अगस्त क्रान्ति आज पनि सान्दर्भिक

Font Size
26 Total Views

देशमा अगस्त महिनालाई क्रान्तिको महिनाका रूपमा हेर्ने गरिन्छ। भारतको इतिहासअनुसार 1 अगस्त 1920 मा असहयोग आन्दोलन शुरू भएको थियो भने 9 अगस्त 1942 मा भारत छोडो आन्दोलन शुरू भएको थियो। यसलाई अगस्त क्रान्तिको रूपमा पनि जानिन्छ। यसरी नै 15 अगस्त 1947 मा देश स्वतन्त्र भएको थियो। भारतको इतिहासको पानामा अगस्त महिना एउटा क्रान्तिको महिनाका रूपमा स्थापित भए तापनि अगस्त क्रान्ति आज पनि सान्दर्भिक भएको छ। हुन त 1942 मा शुरू भएको भारत छोडो आन्दोलन त्यसताक भारतलाई ब्रिटिशराजबाट मुक्ति दिलाउनु रहेको थियो। यो आन्दोलनमा देशको प्रत्येक कुनाकाप्चा, गाउँ शहरदेखि लिएर शिक्षित, अशिक्षित नागरिक, गरीब-धनी सबै देशभरिका नागरिकहरूले सहभागिता जनाएका थिए। त्यस समय आन्दोलनलाई नेतृत्त्व दिइरहेका महात्मा गान्धीले ‘गर वा मर’ को मन्त्र दिएका थिए। यसलाई भारतभरिबाट सहयोग प्राप्त भएको थियो अनि अंग्रेजहरूलाई भारतबाट भगाउन सबैले संकल्प लिएका थिए।
17 अगस्त 1947 मा हाम्रो देश भारत ब्रिटिशको शासनबाट मुक्त भयो। आज देशले स्वतन्त्रता प्राप्त गरेको 70 वर्ष भइसकेको छ। 70 वर्षको यात्रामा देशले धेरै प्रगति गरेको छ। यद्यपि, आज पनि स्वतन्त्र संग्रामीहरूले स्वतन्त्र भारतको जुन परिकल्पना गरेका थिए त्यसलाई आज पनि पूरा गर्न सकिएको छैन। यसैकारण स्वतन्त्रताको 70औं वर्षपछि देशका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकहरूलाई पुनः अगस्त क्रान्तिको इतिहासलाई स्मरण गराउँदै भारतलाई स्वच्छ देश, गरीबमुक्त देश, भ्रष्टाचार, आतङ्कवाद, जातिवाद, सम्प्रादायवादमुक्त देश निर्माणमा सङ्कल्प गरेर प्रत्येकले आ-आफ्नो स्तरबाट योगदान दिनुपर्ने कुरामा जोर दिएका छन्।
जसरी 1920 र 1942 को अगस्त महिनामा देशका नागरिकहरूले अंग्रेज शासन, अंग्रेजहरूको अन्याय-अत्याचारदेखि मुक्त गर्न आ-आफ्नो स्तरबाट योगदान दिएका थिए सोहीअनुरूप योगदान दिन पनि प्रधानमन्त्रीले प्रेरणा दिएका छन्। महत्त्वपूर्ण कुरा के छ भने इतिहासमा देशका नागरिकहरूलाई स्वतन्त्रता प्राप्तिका लागि गर वा मर भन्ने जुन मूल मन्त्र दिएका थिए त्यसको स्थानमा अहिले देशका नागरिकहरूलाई नयाँ भारतको निर्माणमा जोडिन्छु, योगदान दिन्छु अनि सफलता प्राप्तिका लागि आफ्नो सामार्थ्यलाई प्रयोग गर्छु भन्ने सङ्कल्पको मन्त्र दिएका छन्।
इतिहासबाट सिकेर भविष्यतर्फ अघि बढ्ने कुरामा अगस्त क्रान्तिलाई आज पनि सान्दर्भिक बनाउने पहल भइरहेको छ। जसरी भारतमा महात्मा गान्धीको नेतृत्त्वमा शुरू भएको भारत छोडो आन्दोलनको पाँच वर्षपछि सफलता प्राप्त भएको थियो, सोहीअनुरूप नयाँ भारतका निर्माणका निम्ति आगामी 5 वर्षसम्म प्रत्येक नागरिकले आफ्नो तर्फबाट योगदान दिएर वर्ष 2022 सम्ममा स्वतन्त्रता संग्रामीहरूको सपनाको भारत दिन सकिएमा हामीले सही अर्थमा स्वतन्त्रता सेनानीहरूलाई श्रद्धाञ्जली अर्पण गर्न सक्दछौं। यसका लागि युवाहरूको सहभागितासितै नयाँ भारत निर्माणका लागि नवान्वेषी प्रयोगसितै यसलाई एउटा जनआन्दोलनका रूपमा पनि अघि बढाउनु पर्ने आवश्यकता छ। यिनै कुरालाई देशका प्रधानमन्त्रीले पनि उच्च प्राथमिकता साथ देशका नागरिक र विशेष गरी युवाहरूलाई अघि आउनका लागि प्रोत्साहन गरेका छन्। अर्को महत्त्वपूर्ण कुरा के छ भने लगभग दुई सय वर्षसम्म शासन गर्ने अंग्रेजहरूको हातबाट देशलाई मुक्ति दिलाउने विषय अति नै कठिन थियो। वर्ष 1857 मा आजादीका लागि शुरू भएको आन्दोलनले लक्ष्य प्राप्ति गर्न लगभग 1 सय वर्ष प्रतीक्षा गर्नु परेको थियो। यद्यपि, नयाँ भारतको निर्माणमा अहिले अगस्त क्रान्तिलाई सन्दर्भ बनाएर जुन आन्दोलनको शुरूवात गरिएको छ यसलाई सफलता दिलाउन देशका नागरिक स्वयंको दायित्वमा निर्भर छ। अनि इतिहासमा जसरी स्वतन्त्रता संग्रामीहरूले अंग्रेजहरूको अन्याय र अत्याचार सहन गर्दै आफ्नो जीवनसमेत बलिदान दिएका थिए, त्यसको तुलनामा अहिलेको संकल्पमा कसैले गोली ठोक्छ भन्ने त्रासरहित वातावरणमा केवल सत्यलाई आत्मसात गरेर अघि बढ्नुछ।

Related posts

Leave a Comment